माओवादी केन्द्र चौरजहारीको अध्यक्षमा शर्मा

नेपाल कम्युनिष्ट पार्टी  माओबादी केन्द्र चौरजहारी नगर अध्यक्षमा श्रीकृष्ण शर्मा सर्वसम्मत चयन हुनु भएको छ । गत शुक्रबार  देखि सुरु भएको नेकपा माओबादी केन्द्रको दोस्रो नगर सम्मलेनले अध्यक्ष सहित सम्पूर्ण पदमा सर्वसम्मत पदाधिकारी  चयन गरेको हो ।

दोस्रो नगर सम्मेलनले शर्माको नेतृत्वमा उपाध्यक्षमा खुम बहादुर खड्का, सपना बिष्ट र सुदास सुनारलाई चयन गरेको छ भने सचिवमा बीर बहादुर राना, कोषाध्यक्षमा अमर केसी र सहसचिवमा एल बि कटुवाल सहित ६५ सदस्यीय नगर कार्य समितिको चयन गरेको  नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्दीय सदस्य गणेश पोखरेलले जानकारी दिनु भयो ।

अन्य पदमा हिजो नै सहमति जुटिसकेको भएपनि अध्यक्षमा कुरा नमिल्दा बन्द सत्र आज सम्म लम्बिएको माओबादी निकट स्रोतले बताएको छ । अध्यक्षका अर्का आकांक्षी इन्द्रलाल शर्माले सहमति नजनाउदा पदाधिकारीको टुंगो लाग्न सकेको थिएन,आन्तरिक छलफल पछी भने इन्द्रलाल शर्माले सहमति जनाउनु भएको बताईएको  छ ।

स्थानीय निर्वाचन नजिकिदै जादा माओवादी केन्द्र चौरजहारीको सम्मेलनलाई प्रतिस्पर्धी राजनैतिक दल तथा सर्वसाधारणले  समेत चासोको रुपमा हेरेका थिए । माओवादी केन्द्रका नेताहरुले भने दोस्रो कार्यकालको लागी अध्यक्षमा चयन हुनुभएका शर्माको अनुभव र युवाहरुको जोशलाई समेटेर सन्तुलित नगर कमिटि बनेको प्रतिक्रिया दिएका छन ।

सम्मेलनलाई गत शुक्रबार  नेपाल सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले उद्घाटन गर्नु भएको थियो ।