जनार्दन शर्मा सम्बन्धि कागजात र विवरण अर्थ मन्त्रालयसँग माग

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयसँग उनीसँग सम्बन्धित कागजात र विवरण माग गरेको छ।

हिजो मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले समितिको कार्यविधि समेत पारित गरेको थियो।

बैठकमा अर्थ मन्त्रालयसँग शर्मा सम्बन्धि विवरण र काजगात माग गर्दै पत्र पठाउने निर्णय भएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।

मंगलबार जेष्ठ सदस्यका हैसियतमा लोसपा सांसद लक्ष्मणलाल कर्णले बैठकको सभापतित्व गरेका थिए। बैठकमा सर्वसम्मतिबाट समिति सभापति छान्ने निर्णय पनि भएको थियो।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्। यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत छन्।

यस्तै छानबिन समितिमा नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन्।

समितिलाई छानबिन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले १० दिन छुट्याएका छन्। पहिलो बैठक बसेको १० दिनभित्र समितिले रिपोर्ट तयार पारिसक्नुपर्ने छ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ। जनस्तरबाट चर्को विरोध भएपछि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।