अमेरिकाको टेक्सासमा ट्रकभित्र ४२ जना आप्रवासी मृत भेटिए

अमेरिकाको टेक्सस राज्यको बाहिरी इलाकामा एउटा ट्रक(लरी) भित्र कम्तीमा ४२ जनाको शव भेटिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।

सामाजिक सन्जालमा शेयर गरिएको घटनास्थलको तस्वीरमा प्रहरीसहित लरी वरपर आपतकालीन सेवाका सदस्यहरु देखिन्छन् । सो लरीका चालक फेला परेका छैन् । प्रहरीले चालकको खोजी गरिरहेको छ ।

स्थानीय टिभी च्यानलका अनुसार ट्रक सान एन्टोनियोको दक्षिणपश्चिम तर्फ रेलवे ट्र्याक नजिकै देखा परेको थियो ।

सान एन्टोनियो अमेरिका मेक्सिको सीमाबाट करिब २५० किलोमिटर टाढा अवस्थित छ ।

टेक्सासका गभर्नर ग्रेग अबोटले खुला सिमानाको घातक नीतिका कारण यो घटना भएको भन्दै राष्ट्रपति जो बाइडनको आलोचना गरेका छन् ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले आफ्ना एक अधिकारी घटनास्थलतर्फ गएको बताएका छन् । यद्यपी पीडितको नागरिकताबारे भने केही जानकारी नभएको उनले बताए ।

यी व्यक्तिको मृत्यु के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।