कृष्णबहादुर महराका स्वकीय सचिव एमाले प्रवेश

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन्। उनले चैत ८ गतेमात्रै आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लखेर माओवादी पार्टी त्यागेको घोषणा गरेका थिए।

शर्मा र उनकी पत्नि सीता चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा एमालेमा स्वागत गरेका हुन्।

माओवादीमा २३ वर्ष जति विभिन्न पदमा रहेर काम गरे पनि एमालेको विचार, राजनीति र कार्यदिशा ठिक लागेकोले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको शर्माले बताए ।

दाङको घोराहीका उनी एमाले प्रवेश गर्नुपूर्व माओवादी केन्द्रका घोराही उपमहानगर अध्यक्षको जिम्मेवारीमा थिए। शर्माले यो बीचमा माओवादीका केन्द्रीय आयोजक कमिटीसम्मको जिम्मेवारी पाएका थिए।

त्यस्तै, माओवादीको जिल्ला कमिटी सदस्य उनकी पत्निलाई माओवादीले २०७४ सालको स्थानीय तहको निर्वाचनका क्रममा घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार बनाएको थियो।