काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान रेशमलाल चौधरी पार्टी सदस्य हुन अयोग्य रहेको बताएकी छिन्।
अदालतबाट नैतिक पतन जनिने कसुरमा सजाय पाइसकेको व्यक्ति रहेको भन्दै रञ्जीताले पार्टीको सदस्य हुनसमेत अयोग्य रहेकाले पार्टी अध्यक्ष भनी गरेको दाबी र कथित महाधिवेशन खारेजभागी रहेको बताएकी छिन्।
निर्वाचन आयोगले रेशम चौधरी अध्यक्ष रहेको विवरण अस्वीकार गर्दै नाउपाको अध्यक्ष रञ्जिता चौधरी नै रहेको निर्णय गरेपछि त्यसविरुद्ध रेशमले सर्वोच्चमा दायर गरेको रिटमाथि जवाफ दिने क्रममा रञ्जिताले रेशमले सजायबाट माफी पाए पनि नैतिक चरित्र पुनःस्थापना नहुने बताएकी हुन्।
‘अपहरणमा परेका अर्थात आत्मसमर्पण गरेको प्रहरीदेखि अवोध बालकलाई हत्या गरेको कार्य नैतिक पतन नभएको अवस्थामा समेत राजनीतिक दलसम्बन्धी ऐनको दफा १४ ले दलको सदस्यताको लागि अयोग्य मान्ने कुरा र पार्टी विधानको आधारमा निर्वाचन आयोगले विपक्षी रेशम चौधरी पार्टी सदस्यसमेत हुन अयोग्य रहेको भनी गरेको निर्णयमा कुनै कानूनी त्रुटी नभएको हुँदा विपक्षीको रिट खारेजभागी छ,’ रञ्जिताको तर्फबाट संगीत ढुंगानाले वारेस भई दिएको जवाफमा भनिएको छ।
रञ्जिताको तर्फबाट अदालतमा पेश भएको जवाफमा नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको व्यक्तिलाई दलले सदस्य दिन नमिल्ने स्पष्ट व्यवस्था कानूनमा रहेको भन्दै सोहीबमोजिम रेशम चौधरी नाउपाको सदस्य हुन अयोग्य रहेको जिकिर गरिएको छ।
‘टीकापुर हत्याको घटनामा संगठित रुपमा योजना बनाउने र वारदातमा आफैं उपस्थित भई प्रहार गर्न र गराउनमा संलग्न भएको, ज्यानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई विभत्स हत्या गर्न संलग्न रहेको लगायतका विषय निर्विवाद हुन । सो घटनामा रेशम चौधरीको संलग्नताको विषयमा विवाद छैन,’ जवाफमा भनिएको छ।
टीकापुर महाधिवेशनबाट निर्वाचित रेशम चौधरी अध्यक्षताको कार्य समितिलाई निर्वाचन आयोगले मान्यता नदिएपछि उनी अदालत गएका थिए। अदालतमा सो मुद्दाको अघिल्लो सुनुवाइ वैशाख १४ गते तोकिएको छ।
रञ्जिताले निर्वाचन आयोगको निर्णय र राजनीतिक दलसम्बन्धी कानूनलाई नै टेकेर रेशम चौधरी पार्टीको सदस्य हुन अयोग्य रहेको जवाफ दिएकी हुन्।https://www.nepalclicks.com/details/55827
हेलो कर्णाली । १२ बैशाख २०८१, बुधबार १०:३२