माओवादी केन्द्रको बन्द सत्र आजदेखि, प्रचण्डले राजनीतिक दस्तावेज पेश गर्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरु हुँदैछ ।

हिजोदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनको पहिलो दिन उद्घाटन भएको थियो । सो क्रममा कम्युनिष्ट नेताहरुले नेपालका सबै कम्युनिष्ट मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

आज बिहान ११ बजेबाट शुरु हुने बन्द सत्रको कार्यक्रममा देशभरबाट माओवादीका प्रतिनिधिहरु आइपुगेका छन् । १६ सय बढी प्रतिनिधिहरु बन्द सत्रमा सहभागी हुनेछन् ।

माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ । सोही अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दस्तावेज पेश गर्दैछन् ।

के छ प्रचण्डको दस्तावेजमा ?
प्रचण्डले आठौँ महाधिवेशनमा पेश गर्न लागेको दस्तावेजले मुलुक तत्कालै समाजवादमा प्रवेश गर्न नसक्ने बताएको छ । राजनीतिक रूपमा बहुराष्ट्रिय कम्पनीहरूको विरोध गदै लेखिएको दस्तावेजमा तत्काल समाजवादमा मुलुक जान नसक्ने उल्लेख छ ।

‘वर्तमान संविधानले नेपाल समाजवाद उन्मुख राज्य हुनेछ भनेको र त्यही मूल नीतिअन्तर्गत नेकपा माओवादी केन्द्रले समाजवादलाई आफ्नो रणनीतिक लक्ष बनाएको, तर यसलाई तत्कालीन कार्यनीति बनाउने परिस्थिति छैन’, उनले तयार पारेका प्रतिवेदनमा उल्लेख छ ।