श्रीमती र दुई छोरीको हत्यापछि आत्महत्याकाे आशंका

काठमाडौंको सीतापाइलामा तीन जनाको शव भेटिएको ठाउँभन्दा केहीपर एक पुरुषको शव भेटिएको छ ।

बिहान सीतापाइलामा एक महिला र उनका दुई छोरीहरू कोठाभित्रै मृत भेटिएका थिए ।

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।

ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो ।

प्रारम्भिक अनुसन्धानमा ती पुरुषले तीन जनाको हत्या गरी आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको छानबिन भइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।