मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त

काठमाडौँ- प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलियालाई नियुक्त गरेका छन्।

थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्वडीन हुन् भने गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन्।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा सिफारिस समितिले नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा डा धुव्रकुमार गौतमलाई सिफारिस गरेको थियो। उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो। उक्त समितिले पूर्वाञ्चलमा थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो।

दुवै समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेका थिए । विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्यांकन गरी छनोट गरेको थियो ।