सुर्खेतमा आज देउडा खेल्दै मनाईयो माघे सङ्क्रान्ति

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज अत्याधुनिक रङ्गशाला निर्माणधीनस्थलको चौरमा कर्णालीवासी जम्मा भएर गोलो घेरा बनाएर देउडा खेल्दै माघे सङ्क्रान्ति मनाएका छन् ।

घरमा हुँदा देवदारका ठूला मुढा बाल्दै रातभरि जाग्राम बस्ने, एकाबिहानै चिसो पानीले नुहाइधुआइ गर्ने, आलु पोल्ने, फर्सी, पिडालु, भट्याउला (कन्दमूल) पकाउने र सेल रोटीसहितका मिठामिठा परिकार खाएर माघे सङ्क्रान्ति मनाउने उनीहरूले सुर्खेतमा देउडा खेलेरै यो पर्व मनाएका हुन् ।

खासगरी थारु समुदायले माघी अर्थात् नयाँ वर्ष, मगर समुदायले मकर सकरातीका रूपमा मनाउँदा कर्णालीवासीले माघे सङ्क्रान्तिका रूपमा मनाउँदै आएका छन् ।

माघे सङ्क्रान्तिका कारण आज राजधानीको मुख्य शहरमा भीड भएपनि भोलिदेखि नहुने गरी आज राति १२ बजेदेखि स्मार्ट लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी गराएको छ ।

जिप्रका सुर्खेतका अनुसार निर्देशनअनुसार मानवीय गतिविधि सञ्चालन गर्न आइतबारदेखि प्रहरी परिचालन गरिनेछ ।