प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने

काठमाडौँ – पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका छन् ।

उनीहरुबीच केहीबेर अघि मात्रै चाक्सीबारीमा भएको भेटघाटमा देउवालाई समर्थन गर्ने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन् ।

सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।