भोली सार्वजनिक बिदा

गृह मन्त्रालयले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीको चाड इदुलफित्रका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ।

मुस्लिम आयोगको सिफारिसमा मंगलबार बिदा दिइएको हो। इदुलफित्रमा इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गरिन्छ।

गएको चैत २० गतेदेखि सुरु भएको रमजान सोमबार सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्ति दिनमा निराहार बस्छन्। रोजा (ब्रत) बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्छन्। इदुलफित्रसँगै रोजाको शृंखला समापन हुन्छ।