वडा कार्यालयलाई जग्गा दान गर्ने प्रहरी जवान चन्द महिनाकै उत्कृष्ट प्रहरी घोषित

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न. ११ लाई  प्रशासकीय भवन निर्माणका लागि १२ लाख बराबरको जग्गा निशुल्क दान गरेका  प्रहरी जवान शेरजंग चन्द माघ महिनामा जाजरकोट जिल्लाकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनको कामको कदर गर्दै “बेष्ट पोलिस अफ दी मन्थ” घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय जाजरकोटको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी जवान चन्दले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्न जिल्ला अन्तर्गतका गाउँ टाेल र वडा एरियामा विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्ने र व्यवस्थापन समन्वय गर्ने कार्यमा महवपूर्ण भूमिका निर्वाह गर्नु भएको छ।

साथै कोभिड-१९ को रोकथाम तथा न्यूनीकरण गर्ने कार्यमा उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उहाँद्वारा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न चन्दलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु कुमार थापाले जानकारी दिनुभयो  ।