कांग्रेस महाधिवेशनमा १३ पदाधिकारीका लागि ३९ जनाको उम्मेदवारी दर्ता, यस्तो छ निर्वाचन तालिका

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ ।

शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो।

१३ पदाधिकारीका लागि ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मनोनयनका लागि दिएको समयमा एक सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेसहित ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै २ उपसभापतिका लागि पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी साह र सुजाता कोइरालासहित ७ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी २ महामन्त्रीका लागि प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्कीसहित ६ जनाले उम्मेदवारी दिएका छन् ।

सह-महामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै खुला केन्द्रीय सदस्यमध्ये थारूमा १४ जना, मधेसीमा ३२, आदीवासी जनजातीमा ८७, खस आर्य ९३, दलित ३९, महिला ३१, पिछडिएको क्षेत्र २, अपाङ्ग १६, अल्पसंख्यक ६, मुस्लिम १६, प्रदेश १-१३, प्रदेश २- ५, बागमती ९, गण्डकी ७, लुम्बिनी ११, कर्णाली ७, सुदूरपश्चिम १२ र खुला १०९ जनाले उम्मेद्‍वारी दर्ता गराएका छन्।

यस्तो छ निर्वाचन तालिका
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको थियो ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ ।

यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् ।

हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो ।