वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकले समयमै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको हो।

निर्वाचन आयोगले पनि वैशाखमा स्थानीय तह निर्वाचन गर्न सिफारिस गरेको थियो।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल गरिएको बताए।

उनले मिति घोषणा गर्नेबारे भने निर्वाचन आयोगसँग फेरि परामर्श गरिने जानकारी दिए।

अर्को बैठकबाट स्थानीय तहको चुनावको मिति तय गर्ने तयारी छ। माघ ६ मा फेरि बैठक गरेर चुनावको मिति घोषणा गर्न सिफारिस गर्ने समितिको तयारी छ।

साथै माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनबारे पनि आज छलफल भएको छ। रिक्त १९ पदमा सत्तागठबन्धनले भागबन्डा गरी उम्मेदवार उठाएका छन्।

छलफलमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरू उपस्थित थिए।