नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट

काठमाडौँ – नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।

२०२० को तथ्यांकअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्टरी अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए । उनले नेपालमा प्रत्येक वर्ष करिब २० हजार जना भन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताए ।

२०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा देखिएका मुख्य क्यान्सरहरूमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्रको क्यान्सर रहेका छन् । अहिले २० हजार नयाँ केसको डिटेक्शन भएको र १६ हजार मृत्यु भएको उनले बताए । उनका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरू बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।

अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमा एक हो । विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । एक तिहाइ कारक तत्वहरुमाध्ये सुर्तीजन्य पदार्थको प्रयोग,मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ ।