फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो ।

भारतबाट मूल्य बढेर आएसँगै घाटा कम गर्ने उद्देश्यले मूल्य बढाएको निगमले जनाएको छ । निगमका अनुसार बुधबार राति १२ बजेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ कायम भएको छ ।

यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ पनि प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर २ सय डलर बढेको छ । आयल निगमले एलपी ग्यासको मूल्य भने बढाएको छैन । पटक पटक मूल्य बुढाए पनि अझै घाटामा रहेको निगमको दाबी छ ।