सुर्खेतकी महिला माथी काठमाडौंको नयाँ बसपार्कमा सामूहिक बलात्कार, ८ जना पक्राउ

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कमा एक महिला सामूहिक बलात्कृीत भएकी छन् । धेरै पहिलेदेखि श्रीमान् बेपत्ता भएकी पीडित महिला सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी खुलेको छ ।

प्रहरीका अनुसार महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् । घटनामा संलग्न अर्का एक जना अझै फरार छन् ।

प्रहरीका अनुसार युवराजले सुरुमा उनलाई फकाएर गेस्ट हाउसमा लगेका थिए । त्यसपछि विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेको छ ।

वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरुले उनलाई फकाएर होटलमा लगेर सोमबार साँझदेखि मंगलबारसम्म जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको प्रहरी बताउँछ ।

महिलाको मंगलबारै प्रसूतिगृहमा स्वास्थ्य परीक्षण पनि गरिएको छ । घटनाबारे प्रहरी प्रभाग, बसपार्कमा जानकारी आएलगत्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरी सहितको टोली त्यहाँ पुगेको थियो । त्यसपछि सीसी टीभी फुटेज र प्राविधिक विश्लेषण गरेर घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।