कांग्रेस सहमहान्त्रीको सबै क्लस्टरको नतिजा सार्वजानिक, पीछडिएको क्षेत्र तर्फबाट कर्णालीका मुख्यमन्त्री पराजित

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आठ सहमहामन्त्री नाम टुंगिएको छ। बिहीबार र शुक्रबार भएको चुनाव मत परिणाम अनुसार ८ सहमहामन्त्रीको नतिजा सार्वजानिक भएको हो।

आज सार्वजानिक नतिजा अनुसार शेरबहादुर देउवा प्यानलबाट ६ जना सहमहामन्त्री भएका छन् भने शेखर कोइराला प्यानलबाट २ जना सहमहामन्त्री भएका छन्।

कांग्रेसको पीछडिएको क्षेत्र तर्फबाट सहमहान्त्रीमा जीवनबहादुर शाहीलाई पराजित गर्दै बद्री पाण्डे निर्वाचित भएका छन् ।

शेखर कोइराला समूहका पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत ल्याए। तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए।

पराजित भएका जीवनबहादुर शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन् ।

त्यस्तै अन्य सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, मधेसी तर्फ महेन्द्र यादव  र थारूतर्फ उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह, शेख वकिललाई पराजित गर्दै फरमुल्लाह रामकृष्ण यादवलाई पराजित गर्दै महेन्द्र र तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

किशोरसिंह, फरमुल्लाह र महेन्द्र देउवा प्यानलबाट उम्‍मेदवारी दिएका थिए भने देवराज, शेख र रामकृष्ण कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

उमाकान्त पार्टीमा नेता कृष्णप्रसाद सिटौलानिकट हुन्। उनले देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए ।

सिटौला समूहले देउवालाई सघाउन महामन्त्री र सहमहामन्त्रीमा एकेक पद लिएको थियो। देउवासँग मिलेर महामन्त्री उम्मेदवारी दिएका प्रदीप पौडेल पराजित भएका छन्।

अन्य तीन सहमहामन्त्रीमा भने आदिवासी-जनजाति, महिला र दलिततर्फ क्रमश: भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ र जीवन परियार हिजो नै निर्वाचित भैसकेका थिए ।

निर्वाचित सहमहामन्त्रीहरु

  • दलिततर्फ सहमहामन्त्री: जीवन परियार
  • महिलातर्फ सहमहामन्त्री:  महालक्ष्मी उपाध्याय
  • आदिवासी/जनजातितर्फ सहमहामन्त्री: भीष्मराज आङ्देम्बे
  • मुस्लिमतर्फ सहमहामन्त्री: फर्मुल्लाह मन्सुर
  • मधेशी सहमहामन्त्री: महेन्द्र यादव
  • खस/आर्य सहमहामन्त्री: किशोरसिंह राठौर
  • पिछडिएको क्षेत्रबाट सहमहामन्त्री: बन्द्री पाण्डे
  • थारूतर्फ सहमहामन्त्री: उमाकान्त चौधरी