विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।

गत वैशाख ३० गतेको स्थानीय चुनावमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो । उक्त चुनावमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जानकारी दिएको छ । सरकारले गत साउनमा विप्लवसहित शिर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको ९ औं महाधिवेशन समेत प्रभावित भएको थियो ।

विप्लव नेतृत्वको नेकपाले असोज १ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सरकारले पक्राउ पुर्जी जारी गरेपछि स्थगित भएको विप्लव नेतृत्वको नेकपाको महाधिवेशन कहिले हुने निश्चित भइसकेको छैन ।

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको नेकपा माओवादी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले पनि चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।