सुर्खेतमा बर्डफ्लु पुष्टि भएपछि एक हजार बढी पंक्षी नष्ट

सुर्खेतको वीरेन्द्रनगरमा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब १३०० पंक्षी नष्ट गरिएको छ । फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको थियो ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट वीरेन्द्रनगर नपा–३ तातोपानी स्थित सो टर्की फर्मको टर्कीमा बर्डफ्लु देखिए पछि टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको थियो ।

टर्कीमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकको निर्देशन पश्चात चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटर क्षेत्रमा पालिएका करिब १२०० ब्रोइलर कुखुराका चल्ला, ८० टर्की र अन्य लोकल कुखुरा नष्ट गरेको थियो ।