नेपाली काङ्ग्रेस रुकुम पश्चिमका नेता एवं नेपाल बिद्यार्थी संघका पूर्व उपाध्यक्ष खडक डाँगीले माओवादी केन्द्र तर्फ ईङ्गित गर्दै रुकुममा भावना नमिल्ने सङ चुनावी तालमेल नहुने वताउनु भएको छ । स्थानीय आवश्यकताका आधारमा गठवन्धनका दलहरु संग तालमेल गरेर जानसक्ने काङ्ग्रेस केन्द्रको निर्णय पछि मंगलबार साझ सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै नेता डाँगीले कार्यकर्ताको भावनाको सम्मान गर्दै विचार र मन नमिल्ने संग चुनावी सहकार्य नहुने बरु मित्रवत प्रतिस्पर्धा हुने धारणा राख्नु भएको हो ।
नेता डाँगी आफ्नो फेसबुकमा लेख्नु हुन्छ “नेपाली काङ्ग्रेसको निर्णयमा स्थानीय आवश्यकता भनेको आम काङ्ग्रेस कार्यकर्ताको मर्म र भावना हो, कार्यकर्ताको रोजाइ र चाहना हो । आम रुकुमका काङ्ग्रेस जनको मर्म र भावनामा कुठाराघात हुने छैन जे निर्णय हुन्छ कार्यकर्ताको भावना अनुसार नै हुने छ। जो सङ मन मिल्छ,भावना मिल्छ उहीँ सग सहमति र सहकार्य हुन्छ मन नमिल्ने भावना नमिल्ने सग मित्रवत प्रतिस्पर्धा हुन्छ । शोषण दमनमा परेका, झुठ्ठा मुद्दामा फसाईएका, बर्षौ देखि अराजकताका शिकार बनेका तमाम कार्यकर्ता भावना कुल्चेर कुनै निर्णय हुने छैन ।आफ्नो इच्छा बिपरित मतदान गर्ने अवस्था को सिर्जना काङ्ग्रेस रुकुमले गर्ने छैन म बिश्वास दिलाउन चाहान्छु। सम्पुर्ण साथीहरू दृढ़ इच्छाशक्ति बलियो आत्मबिश्वास साथ चुनावी अभियान लाई शसक्त बनाउन कुनै भ्रममा नपर्न अनुरोध गर्दछु।”
स्थानीय तह निर्वाचनमा गठबन्धनको चर्चा चले सङ्गै रुकुममा पनि परिस्थिति कस्तो बन्ला भन्ने निकै चासोको रुपमा हेरिएको अवस्था हो । अघिल्लो पल्ट रुकुम पश्चिमका ६ र रुकुम पुर्वका ३ वटै पालिकामा माओबादी केन्द्र विजयी भएको र फेरी ती पालिकामा माओवादी केन्द्रको स्वभाविक दाबी रहने नै छ । माओवादी केन्द्रले रुकुमका कुनै पनि पालिकामा काङ्ग्रेसका उमेदवारलाई समर्थन गर्ने अवस्था न्यून रहेको छ भने यस्तो अवस्थामा काङ्ग्रेसले पनि माओवादी केन्द्रका उमेदवारलाई समर्थन गर्ने संभावना नदेखिएको अवस्थामा काङ्ग्रेस नेता डाँगीको भनाईलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।
काङ्ग्रेसले आफ्नो जनाधार बलियो बन्दै गएको बताईरहेको छ भने माओवादी केन्द्रले आफ्नो पकड कायमै रहेको बताईरहदा स्थिति माओवादी केन्द्रले सोचेको जस्तो नहुन सक्ने आकलन गर्न थालिएको छ। केन्द्रिय र प्रादेशिक सरकारमा गठबन्धनमा रहेका दलहरु रुकुमको स्थानीय निर्वाचनमा कसरी जान्छ्न हेर्न बाकी नै छ । विकसित घटनाक्रमलाई नियाल्दा माओवादी केन्द्र संग भन्दा रुकुममा लामो समय प्रतिपक्षमै सिमित काङ्ग्रेस र एमालेका बीच चुनावी तालमेल हुन सक्ने बिषयलाई पनि नकार्न सकिँदैन । यद्यपि चुनावी तालमेलका बिषयमा रुकुमका कृयाशिल दलहरुले आधिकारिक निर्णय भने गरिसकेको अवस्था छैन ।
हेलो कर्णाली । १६ चैत्र २०७८, बुधबार ०९:००