खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

 खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ । केन्द्रबाट आएको कुहिएको बास्मती चामल राखिएको गोदाम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सिल गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको ४ सय ८७ मेट्रिक टन बास्मती चामल राम्रो चामलसँग मिसाएर कर्णाली प्रदेशका दुर्गम जिल्लामा बिक्रीका लागि पठाएको समाचार राजधानी दैनिकले बुधबार प्रकाशित गरेपछि डिभिजन कार्यालयले बिक्री वितरण नगर्ने भन्दै चामल गोदाम सिल गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बुधबार राजधानी दैनिकमा प्रकाशित समाचारलाई आधार मानी आफ्नो नेतृत्वमा कम्पनीको चामल गोदाममा अनुगमन गरी सिल गरेको जानकारी दिए ।

उनले सुर्खेत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिकाका घरेलु तथा उद्योग शाखा प्रमुख इन्द्रबहादुर थापा, नगर प्रहरी कार्यालयका हरिभक्त रोकाया, उपभोक्ता हित संरक्षण मञ्च नेपालका बिन्दुलाल रेग्मी, राष्ट्रिय उपभोक्ता मञ्चका आकाशतारा बयकलगायत सञ्चारकर्मीहरूको रोहवरमा कम्पनीको चामल गोदाम सिल गरिएको जानकारी दिए ।

डिभिजन कार्यालयका प्रमुख थापाले भने, ‘खाद्य कम्पनीको गोदाममा अनुगमन गर्दा काठमाडौंबाट आएको १९ सय ९० क्विन्टल बास्मती चामलमध्ये १५ क्विन्टल बिक्री गरिसकेको पाइयो, बाँकी १९ सय ७५ क्विन्टल चामल खाद्य कम्पनीको गोदाममा छ । हाल गोदाममा रहेको सो बास्मती चामल बिक्री वितरण नगर्न भन्दै गोदाम सिल गरिएको छ ।’

‘खाद्य कम्पनीको गोदाममा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको ४ सय ८७ मेट्रिक टन बास्मती चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिल गरेको हो वा होइन र हाल सो बास्मती चामल खाद्य कम्पनीको थापाथाली गोदाममा छ वा छैन, यथार्थ के हो ? जानकारी गराउन भन्दै विभागलाई बुधबार नै पत्र काटी इेमलमार्फत पठाइएको छ,’ उनले भने ।

उनले विभागलाई पठाएको पत्रको जवाफ हेरेर कारबाही प्रक्रिया बढाइने बताए । डिभिजन कार्यालय प्रमुख थापाले खाद्य प्रविधि विभागले सो चामल खानयोग्य नभएर गुणस्तरहीन भएकाले नष्ट गर्ने भन्दै चामल गोदाम सिल गरेको तर खाद्य कम्पनीले कसैको जानकारीबिना आफैं चामल गोदामबाट ‘रि पोलिसिङ’ गरी सुर्खेत जिल्लामा पठाएको हो भने विभागले नै मुद्दा चलाउन पाउनुपर्ने बताए ।

तर, यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले आफूलाई खाद्य कम्पनीको चामलको विषयमा केही पनि जानकारी नभएको बताए ।

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरी गुणस्तरहीन खाद्यान्न बजार पठाएको पाइएमा खाद्य ऐनअनुसार कानुनी कारबाही गर्ने अधिकार भए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक रायले भने आफूलाई कुनै जानकारी नै नभएको बताएका हुन।

राजधानी दैनिक बाट