ई.उमेश थानी नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा इन्जिनियर उमेश थानी नियुक्त हुनु भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

नेपाली काँग्रेसमा सभापति देउवा निकट मानिने थानीले केही वर्ष एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । उहाँ त्यसअघि नेपाल इन्जिनियरिङ एसोसियसनको महासचिव तथा इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार रहनु भएको थियो । साथै, केही समय सडक बोर्ड नेपालको सञ्चालक समेत रहेका थानी हाल काँग्रेस निकट इन्जिनियरिङ संस्था सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

सुर्खेत निवासी थानीले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोतमा स्नातकोत्तर र समाजशास्त्रमा समेत स्नातकोत्तर उपाधी हासिल गर्नु भएको छ भने  एलएलबी गरेर कानुन व्यवसायीको अनुमतिपत्र समेत लिनु भएको छ। थानी सार्वजनिक संस्थानको नेतृत्व हाँक्ने सक्षम व्यक्ति तथा इन्जिनियरिङ क्षेत्रका लोकप्रिय व्यक्ति रूपमा पनि चिनिनुहुन्छ ।