चौरजहारी वडा ८ र ९ मा काङ्ग्रेस एमालेको भव्य चुनावी कार्यक्रम

आसन्न स्थानीय निर्वाचनलाई केन्द्रित नेपाली काङ्ग्रेस र एमालेको संयुक्त चुनावी अभियान अन्तर्गत चौरजहारी नगरपालिकाको वडा न ८ र ९ मा भव्य कार्यक्रम सम्पन्न भएको छ । चौरजहारी नगरपालिकामा लैयाटा र स्मालटाकुरामा भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा स्थानीयहरुले माओवादी केन्द्र परित्याग गरि काङ्ग्रेस एमालेको संयुक्त अभियानमा समाहित भएको नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तिर्था गौतमका स्वकीय सचिव कौशिला केसीले जानकारी दिनुभयो ।

नगर प्रमुखको उम्मेदवार रहनुभएका प्रेमबहादुर ओलीले संयुक्त कार्यक्रमहरुमा विजयको झल्को देखिएको बताउनुभयो । लोभ, आश्वासन र तडकभडक छैन, ओलीले भन्नुभयो जनताले स्पष्ट बुझिसकेका छन्, जीतको पर्खाई मात्र रहेको छ ।

उपप्रमुखका उम्मेदवार टंकप्रसाद ओलीले एमाले काँग्रेसको चुनावी एकताबाट माओवादी छटपटाएको बताउनुहुँदै चौरजहारीमा स्वच्छ विकास, राजैतिक एकता र समृद्धिका लागि आफूहरुलाई जिताउन आह्वान गर्नुभयो ।

संयुक्त चुनावी सभामा बोल्दै नेपाली काङ्ग्रेस महासमिति सदस्य तिलक भण्डारीले दलित मुक्तिको चर्का नारा लगाउनेहरु नै प्रवृत्तिका हिसाबले दलित बिरोधी भएको बताउनु भयो, सोती कान्डको उदारहण दिदै भण्डारीले दलित मुक्तिको नारा लगाउनेहरु कतिले सोतीमा कान्डमा मृत्यु भएका दलितको पक्षमा बोले भन्दै प्रश्न उठाउनु भएको थियो । दलितको पक्षमा बोलेकै कारण पार्टी छोड्न बाध्य बनाईनु भएका चन्द्र बहादुर बिक लगायतले पार्टी परित्याग गर्नुका पछाडि पनि माओवादी भित्र रहेको भेदभावको स्थिती प्रष्ट पार्ने बताउनु भएका भण्डारीले माओवादी देखावटी रुपमा मात्रै दलितको पक्षमा हुन, दलित जनजातिको असली साथी काङ्ग्रेस एमाले मात्रै रहेको धारणा व्यक्त गर्नु भएको थियो । भण्डारीले भन्नू भयो “आफ्नो हातमा रिमोट राखेर सस्तो लोकप्रीयताका लागि दलित अगाडी सार्नेहरुनै दलितका मुख्य दुश्मन हुन । ”

सशस्त्र युद्द सुरुवात देखि लामो समय माओवादी केन्द्रको नेताका रुपमा सक्रिय रहि पछिल्लो समय नेकपा एमाले प्रवेश गर्नु भएका चौरजहारीका लोकप्रीय नेता कर्ण बहादुर घर्तीले माओवादी भित्र अवसरवाद मौलाएको पार्टी नातावाद कृपावाद र चरम भ्रष्टाचारमा फसेको र माओवादीका नेताको चित्र र चरित्रको तालमेल कहि कतै नमिल्ने अवस्थामा पुगिसकेको बताउनु भयो । नेता घर्तिले माओवादीले अगाडि सारेका उमेदवार भन्दा काङ्ग्रेस एमालेका उमेदवार परिपक्व, अनुभवी र जिम्मेवार हुनुहुन्छ। तपाईको आजको मत तपाईं र तपाईको परिवार र समाजको भविष्य सङ जोडिएको हुदा जिम्मेवार भएर काङ्ग्रेस एमालेको गठबन्धनका उमेदवारलाई विजयी बनाउन अपील गर्नु भयो ।

संघीय सांसद तिर्था गौतमको प्रमुख आतिथ्यतामा र नेपाली कांग्रेसका वडा सभापतिहरु क्रमश: गणेश बुढाथोकी र नर बहादुर मल्लको  सभापतित्वमा सम्पन्न दुबै  संयुक्त चुनावी सभाका कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश सदस्य कर्ण बहादुर घर्ती नेपाली कांग्रेसका महासमिति सदस्य तिलक भण्डारी, क्षेत्रीय सभापति भद्र बहादुर बिष्ट लगायत नगर प्रमुख, उपप्रमुखका, वडा अध्यक्ष र सदस्यहरुका उमेद्वार र स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।