एमालेको अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी, महासचिवमा शंकर पोखरेल निर्विरोध

चितवन – नेकपा (एमाले) मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल रहेका छन् भने शंकर पोखरेल समर्थक रहेका छन् ।

एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुषालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो । रावल र भुषालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुषालको नाम थिएन ।

त्यस्तै महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।

यसअघि उपमहासचिव विष्णुप्रसाद पौडेल पनि महासचिवमा इच्छित भएको भन्दै यसमा कुरा मिल्न नसकेकोे बताइएको थियो । तर पोखरेल र पौडेल दुवै जना केपी ओलीका निकै नै विश्वासी पात्र भएकाले उनीहरु ओलीको बोलीलाई काट्न नसकी जुन पद ओलीले दिए त्यसमै बस्न राजी भए ।

पौडेल भने ओलीले प्रस्ताव गरेको सूचीमा उपाध्यक्षमा रहेका छन् ।