दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ

काठमाडौं – सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ ।

केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार दुई घण्टा लामो सोधपुछपछि मुख्यमन्त्रीलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केजरीवाल सरकारले ल्याएको मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको भन्दै उनलाई पक्राउ गरेको हो ।

यस नीतिमा घोटाला भएको भन्दै दिल्लीका मुख्यसचिव नरेश कुमारले उजुरी दिएका थिए ।

यसअघि इडीले मुख्यमन्त्री केजरीवाललाई कार्यालयमा हाजिर हुन ९ पटक पत्र लेखेको भएपनि उनी हाजिर नभएको समाचारमा उल्लेख छ।

यस मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, कारोबारी विजय नायर, अभिषेक बोइनपल्ली र आमआदमी पार्टीका राज्यसभा सांसद संजय सिंह पक्राउ परिसकेका छन् ।

भारतमा यसरी बहालवाला मुख्यमन्त्री पक्राउ परेको यो दोस्रो घटना हो।