जाजरकोटमा सत्ता गठबन्धनका दलहरु बीच चुनावी तालमेलको सहमति

जाजरकोटमा आगामी स्थानीय तह निर्वाचनका लागी तालमेल गर्न दलहरु सहमत भएका छन। सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकले केन्द्रीय निर्देशन बमोजिम जाजरकोट जिल्लामा चुनावी तालमेल गरेर अगाडी बढ्ने सहमती गरेको हो ।

सत्ता गठबन्धनमा रहेका दलका तर्फ बाट संयुक्त वक्तव्य जारी गर्दै जिल्लामा आगामी  स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस,  माओवादी (केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका बीच चुनावी तालमेल गरेर अघि बढ्ने, गठबन्धनका काम कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागी पार्टी प्रमुख सहित ३-३ जना सदस्य रहने गरी जिल्ला  स्तरीय संयन्त्र निर्माण गर्ने तथा गठबन्धनको मर्ममा खलल पुग्ने गरी कुनै पनि गतिबिधि संचालन नगर्ने नगराउने र जिल्लाकै अभ्यास अनुसार पालिका स्तरीय संयन्त्र गठन गर्ने सहमति भएको बताईएको छ । जारी व्यक्तव्यमा नेपाली कांग्रेसका सभापति बेदराज सिंह, माओवादी केन्द्रका अध्यक्ष संयोजक डम्बर बहादुर रावत एकीकृत समाजवादीका अध्यक्ष कमान बहादुर खड्का र जनता समाजवादीका अध्यक्ष झलक बुढाले हस्ताक्षर गर्नु भएको छ ।

जारकोटमा यस अघिको निर्वाचनमा नेपाली कांग्रेसले बारेकोट र कुशे गाउँपालिका, एमाले ले भेरी र छेडागाड नगरपालिका शिवालय गाँउपालिका र माओबादीले नलगाड नगरपालिका र जुनिचाँदे गाँउपालिका जितेका छन,पाँच पालिका र ४० वडा कांग्रेसले दाबी गरिरहदा  गठबन्धनका दलहरुले पद बाडफाड कसरी मिलाउछन सर्वत्र चासोको बिषय बनेको  छ ।