कर्णालीमा दुई लाख बढी नागरिकलाई कोराेना विरुद्धको खोप

सुर्खेत – कर्णाली प्रदेशमा दुई लाखभन्दा बढी नागरिकले कोराेना विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसारअहिलेसम्म प्रदेशका १० वटै जिल्लामा गरेर दुई लाख ४१ हजार २४९ जना अर्थात् २२ प्रतिशत जनसङ्ख्याले पूर्ण खोप लगाएका हुन् ।

कर्णाली प्रदेशमा गएको माघदेखि खोप अभियान सञ्चालन भएको थियो । कर्णाली प्रदेशमा बसोबास गर्ने करिब १८ लाख २४ हजार जनसङ्ख्यामध्ये १८ वर्षमाथिका १० लाख ९४ हजार ४५ जना छन् । त्यसमध्ये दुई लाख ४१ हजार २४९ जनाले पूर्ण खोप पाएका छन् ।

सबैभन्दा बढी सुर्खेतमा ७७ हजार १५ जनाले पूर्ण खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै सल्यानमा ३३ हजार २१, रुकुम पश्चिममा २९ हजार ५५, जुम्लामा २१ हजार ६४, दैलेखमा ३२ हजार ३७६, कालीकोटमा १५ हजार १०८, जाजर को टमा ११ हजार ७०९, हुम्लामा छ हजार ८५३, मुगुमा नौ हजार ६०८ र डोल्पामा ६ हजार ६३३ जनाले खोप लगाएका छन् ।

प्रदेशमा अझै एक लाख २० हजार ७११ जनाले दोस्रो मात्रा खोप लगाउन बाँकी छ । अहिले प्रदेशका सबै जिल्लामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा निर्देशक डा. रवीन खड्काले पालिका स्तरमा खोपका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

हुम्ला, डोल्पा र मुगुमा अधिकांश नागरिकलाई पूर्ण खोप लगाइएको उनले बताए । उनले ४५ वर्षमाथिका अधिकांश नागरिकले खोप लगाइसकेको, केही जिल्लाले १८ वर्षमाथिकालाई खोप लगाएको र अब सबै ठाउँमा १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने उल्लेख गरे । हालसम्म प्रदेशमा ३३ हजार ५१३ जनामा कोराेना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ३१ हजार ५९५ जना कोराेना सङ्क्रमणमुक्त भएका छन् । प्रदेशमा २८० जना सक्रिय सङ्क्रमित छन् ।