सल्यान जिल्लाको कुमाख गाँउपालिकामा कार्यपालिका अन्तर्गत बिषयगत समिती गठन गर्ने प्रस्तावमा विवाद भएको छ। यसै बिषयमा दुई पटक कार्यपालिकामा छ्लफल गर्दापनी बिषयगत समिति गठनमा काँग्रेस-एमाले(गठबन्धन) र माओवादी केन्द्र बिचमा सहमती कायम हुन सकेको छैन ।
माओवादी केन्द्रका जनाप्रतिनिधिले ५ वटा बिषयगत समिती मध्ये आर्थिक विकास,सामाजिक विकास,पुर्वाधार विकास मुख्य ३ वटा समितिको दावी नछोडेपछी सहमति हुन नसकेको गाँउपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले जानकारी दिनुभयो।अध्यक्ष बुढाथोकीले भन्नुभयो प्रारम्भिक छलफलमा हामीले सामाजिक बिकास र पुर्वाधार बिकासको दावी गरेपनी पछि सहमतिको अधिकतम प्रयासको लागि ५ वटा बिषयगत समिती मध्ये सामाजिक विकास समिती मात्रै हामीलाई दिएर वाँकी ४ वटा बिषयगत समिती तपाईहरु लैजानुहोस भन्दापनी माओवादी केन्द्रका साथीहरुले मान्नुभएन तरपनी सबैलाई मिलाएर लिने दायित्व भएकोले सहमतिको लागि आफु सधैं तयार रहेको बताउनुभयो।
माओवादी केन्द्रका वडा नं १ का वडा अध्यक्ष डिल्ली रानाले जेठ ८ गते र असार ४ गतेको कार्यपालिका बैठक सौहार्दपुर्ण रुपमा केही निर्णय र छ्लफल भएपनी असार ७ गतेको बैठकमा बिषयगत समिति गठनमा गठबन्धनले छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याउन जोड दिएकोले आफुहरुले त्यसो नगरी क्रमिक रुपमा अगाडि बढनुपर्ने धारणा राखेको बताउनुभयो ।
१५ सदस्यीय कुमाखको कार्यपालिकामा माओवादी केन्द्रका १० जना सदस्य र काँग्रेस एमाले(गठबन्धन) का ५ सदस्य छ्न। त्यस्तै ३९ सदस्यीय गाँउसभामा माओवादिका २१ सदस्य र काँग्रेस एमाले(गठबन्धन) का १८ सदस्य भएकोले गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेर पनि गठबन्धन अल्पमतमा छ। गाँउपालिका अन्तर्गत बिषयगत समितिमा आर्थिक विकास,सामाजिक विकास,पुर्वाधार विकास,वन तथा वातावरण विपत ब्यवस्थापन र सुशासन तथा संस्थागत विकास नामक बिषयगत समिती हुने गर्दछन । योजना तर्जुमा र बजेट बाँडफाँडमा बिषयगत समितिको भूमिका विशेष हुने भएकोले पनि कार्यपालिकाको बैठकमा घनिभुत रुपमा छलफल गर्दा पनी सहमती कायम हुन सकेको छैन।

मिसर कुमार आचार्य । १२ असार २०७९, आईतवार २०:१७