वाईसीएलको आक्रमणमा परि काङ्ग्रेसका वडा सभापति सहित ३ गम्भीर घाईते

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १ मा गए राती वाईसीएलको आक्रमणमा परि काङ्ग्रेसका वडा सभापति सहित ३ जना गम्भीर घाईते भएका छन । आक्रमणमा परि  नेपाली काङ्ग्रेस वडा नम्वर १ का सभापति यज्ञश बिष्ट, तरुण दलका वडा सभापति त्रिलोचन गिरी र स्थानीय मन बहादुर बिक गम्भीर घाईते भएको वडा अध्यक्षका उम्मेद्बार यदु कुमार आचार्यले जानकारी दिनुभयो। घाईते मध्य वडा सभापति यज्ञश विष्टको अवस्था जटिल बन्दै जादा नेपालगन्ज रिफर गरिएको छ भने टाउकोमा चोट लागेका अन्य दुई जनाको भने चौरजहारी अस्पतालमा उपचार भै रहेको छ ।

राती करिब १०:३० बजेको समयमा चौरजहारी -१ घारीगाउँ  काङ्ग्रेसका वडा सभापतिको घर नजिकै मान्छेहरु जम्मा भएर हो- हल्ला गरिरहेको अवस्थामा रातीमा हो-हल्ला नगर्न अनुरोध गर्दै सभापती बिष्ट त्यहाँ पुगे पछि विना दोहोरो कुराकानी वाईसीएलले अन्धाधुन्ध आक्रमण गरेको काङ्ग्रेसले जनाएको छ । बिष्टलाई लागेको चोटको प्रकृति हेर्दा पनि हात हतियार सहित मान्छे मार्ने नियतले आक्रमण भएको तरुण दलका नेता तेज बिष्टले बताउनु भयो । घाईतेलाई उपचारको लागि अस्पताल लैजादा माओवादी कार्यकर्ताले अस्पताल परिसरमा समेत घेराबन्दी गरेर अवरोध सिर्जना गरेको वडा सदस्य पदका उम्मेदवार रवी गिरीले बताउनु भयो ।

घटनाका बिषयमा प्रतिक्रिया लिन खोज्दा वाईसिएल चौरजहारीका संयोजक एल बि कटुवालले काङ्ग्रेसले लगाएको आरोप झुठो भएको भन्दै अन्य बिषयमा पछि बोल्ने बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय नजिकै घटना हुदा पनि प्रहरीले चासो नदिनु, तारन्तार फोन गर्दा पनि प्रहरीले वेवास्ता गर्नु र खबरै नपुगेको वहाना बनाउनुले प्रहरीको भूमिका शङ्कास्पद रहेको भन्दै यस्तो सुरक्षा व्यबस्थाले निर्वाचन निष्पक्ष हुनेमा समेत प्रश्न उठेको काङ्ग्रेस चौरजहारीले बताएको छ । २०० मिटरमा रहेको घटना स्थल पुग्न प्रहरीलाई १ घण्टा बढी लागेको काङ्ग्रेस कार्यकर्ताहरु बताउछ्न ।

चौरजहारीमा बिहिवार मात्रै पनि वाईसीएल र काङ्ग्रेस एमाले कार्यकर्ता बीच वडा नम्वर ७ मा झडप भएको थियो । झडपमा परी ५ जना गठबन्धन तर्फका र २ जना माओवादी कार्यकर्ता घाईते भएका थिए । उक्त दिन आफ्नो चुनावी सभा भै रहदा काङ्ग्रेस एमाले कार्यकर्ताले ढुङ्गामुढा गरेकोले उक्त परिस्थिति उत्पन्न भएको माओवादी केन्द्रले बताएको छ भने गठबन्धनका दलले आफ्ना कार्यकर्ता माथी पहिले आक्रमण भएको बताएका छन ।

दिनहुँ जसो चौरजहारीमा भैरहेका झडपका घटनाले दलहरुले आफ्ना कार्यकर्तालाई संयमित राख्न नसक्नु र चौरजहारीको सुरक्षा व्यबस्था चुस्त नभएको नै देखाउछ । मेस र क्याम्पिङका नाममा हुने हो-हल्ला र मदिराको बढ्दो प्रयोग पनि यसका कारण हुन । बेलैमा दलहरुले आफ्ना कार्यकर्ता संयमित राख्न र स्थानीय प्रशासनले सुरक्षा व्यबस्था चुस्त राख्न नसके अरु अप्रीय घटना नघट्लान भनेर भन्न सकिने अवस्था छैन ।