सुर्खेत – नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा कर्णाली प्रदेशबाट एक जना पदाधिकारीमा र सात जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

पूर्वमहामन्त्री समेत रहेका पूर्णबहादुर खड्का यसपटक उपसभापतिमा निर्वाचित भए भने उनी बाहेक कर्णालीका १० जिल्लामध्ये सात जिल्लाबाट सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
१४औं महाधिवेशनबाट महिलातर्फको खुला सदस्यमा हुम्लाकी रंगमती शाही र खस–आर्य महिलाकोटाबाट जुम्लाकी कान्तिका सेजुवाल निर्वाचित भएकी छन् ।
यस्तै रूकुम–पश्चिमका मानबहादुर नेपाली दलित कोटाबाट र दैलेखकी सीताकुमारी राना आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशको खुलातर्फबाट जाजरकोटका राजीवविक्रम शाह र डोल्पाका कर्णबहादुर बुढा अनि प्रदेशको महिला कोटाबाट सुर्खेतकी जानकी सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
सहमहामन्त्री पिछडिएको क्षेत्र तर्फ भने हालका कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका जीवन बहादुर शाही पराजीत भएका थिए ।

हेलो कर्णाली । १० पुष २०७८, शनिबार १८:०७