बालकृष्ण भाट कांग्रेसका जिल्ला सदस्य थिएनन : नेपाली कांग्रेस रुकुम

नेपाली कांग्रेस रुकुम पश्चिमले  हिजो माओवादी केन्द्र प्रवेश गरेका भनिएका बालकृष्ण भाट नेपाली कांग्रेस जिल्ला कार्य समिति रुकुम पश्चिमको जिल्ला सदस्य नरहेको बताएको छ। आज एक विज्ञप्ती जारी गर्दै कांग्रेसले नेपाली कांग्रेस जिल्ला सदस्य भनेर सामाजिक संजाल र विभिन्न समाचार माध्याममा नियोजित रुपमा गरिएको प्रचार अतिरंजना मात्रै भएको बताएको छ ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको कार्य शैली र स्थानीय सरकारहरुमा देखिएको निरंकुशताको  कडा शब्दमा आलोचना गर्दै काँग्रेसले सत्ता र शक्तिको धाक-धक्कु तथा आर्थिक चलखेलको विकृत तुजुकको आडमा मञ्चन गरिने नाटकको भ्रममा नपर्न आम पार्टी पंक्ति तथा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल समेत गरेको छ। कांग्रेसले विज्ञप्तीमा भनेको छ “संघीयता र लोकतन्त्रका मर्मज्ञहरू स्थानीय सरकारलाई कोक्रो देखी श्मशान घाटसम्मको जनताको सुखदुःख को साझेदार र सहयात्री मान्छन् । तर, रुकुम तिरका स्थानीय सरकार भने उल्टै जनता तर्साउने बुख्याँचा सावित भएको तितो यथार्थ रुकुमेली जनता समक्ष जगजाहेर छ।”

विज्ञप्तीको पूर्णपाठ :

करिब आठ दशक लामो नेपाली लोकतान्त्रिक आन्दोलनको अग्रशक्ति नेपाली कांग्रेस आजपर्यन्त देशलाई सफलतापूर्वक नेतृत्व गरिरहेको छ । जहाँनीया राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र माओवादीको उग्रवामपन्थी हिंसात्मक भड्खालोबाट देशलाई सफलतापूर्वक अवतरण गराएर संविधानवाद सहितको संविधान दिएको नेपाली कांग्रेस पार्टीलाई विभिन्न कालखण्डमा उग्रपन्थीहरूले कुनै न कुनै रूपमा प्रहार गरिरहेकै छन् । बदनाम गर्ने कुचेष्टा गरिरहेका छन् । “नेपाली कांग्रेसका जिल्ला सदस्य बालकृष्ण भाट माओवादीमा प्रवेश” भनेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट अतिरञ्जित रूपमा हिजो प्रचार गरिएको समाचार  सोही कुचेष्टाको पछिल्लो कडीको रूपमा देखा परेको छ । निज भाट हाम्रो पार्टीको जिल्ला सदस्य नरहेको प्रष्ट पार्दछौँ । उनको आयाराम गयाराम शैली विगतको स्थानीय निर्वाचन ताका समेत देखिएकै हो । पार्टीले मौका दिँदा संगठन प्रति प्रतिबद्ध हुने भन्दा पनि सत्ताको चास्नीमा डुब्न रमाउनेहरूले अन्ततोगत्वा जुन ठाउँमा गए पनि राजनीतिक प्रदुषण बढाउने मात्रै हुन् ।
 लोकतन्त्रमा दल परिवर्तन स्वाभाविक पक्ष हो तर निर्वाचनको सम्मुखमा सत्ता र शक्तिको धाक-धक्कु तथा आर्थिक चलखेलको विकृत तुजुकको आडमा मञ्चन गरिने नाटकको भ्रममा नपर्न आम पार्टीपंक्ति तथा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ । 
साथै, मुलुक यतिबेला स्थानीय तह निर्वाचनको संघारमा उभिएको छ । तीन तहका सरकार मध्य स्थानीय सरकारलाई नेपालको संविधानले जनताको सबैभन्दा नजिकको अभिभावकको रूपमा परिकल्पना गरेको छ । स्थानीय तह अघिल्लो संविधानमा व्यवस्था गरिएको जस्तो अमूर्त संरचना नभएर ठोस अधिकार र कर्तव्य सहित स्थापना गरिएको कार्यकारी संरचना भएकोले यसको स्थान गरिमामयी छ । संघीयता र लोकतन्त्रका मर्मज्ञहरू स्थानीय सरकारलाई कोक्रो देखी श्मशान घाटसम्मको जनताको सुखदुःख को साझेदार र सहयात्री मान्छन् । तर, रुकुम तिरका स्थानीय सरकार भने उल्टै जनता तर्साउने बुख्याँचा सावित भएको तितो यथार्थ रुकुमेली जनता समक्ष जगजाहेर छ । जनताको एक एक पैसा जम्मा भएर बनेको सरकारी ढुकुटीबाट बजेट आउँछ तर माओवादीहरू आफ्नो गोजीबाट आएको झैँ प्रचार गर्छन् । सरकारी राहत, अनुदान वितरणमा समेत प्रचलित नीति नियम विपरीत राजनीतिक आस्थाको आधारमा पैसा बाँडफाँड गर्छन् । यसबाट रुकुमका सत्ताधारी माओवादीहरू बाहिर समाजवादका भजन गायक भएता पनि अन्तर्यमा आफैंले धोक्रो फुलाएर विरोध गर्ने पूंजीवादको सबैभन्दा विकृत स्वरूप ट्वाँट् पूंजीवादका अनुयायी भएको प्रष्ट छ । बाउन्न सालदेखि  बैसठ्ठी/ त्रिसट्ठीसम्म बन्दुकको आडमा, त्यसपछि वैधानिक बाटोबाट रुकुमको बजेटमा आजपर्यन्त ढलिमली गरेर सुन्निएकाहरू, आसेपासे पूंजीवादका अनुयायीहरूलाई उचित जवाफ दिने समय आइसकेको छ । देशले लोकतान्त्रिक गणतन्त्र भन्छ । स्वयं माओवादी अध्यक्ष प्रचण्ड समेत नेपाली कांग्रेसका श्रद्धेय सभापति ज्यू को आशय र सन्देश बोकेर घरी खुमलटार, घरी कोटेश्वर, घरी बालुवाटार त घरी बुढानिलकण्ठ भौँतारिन्छन् । तर रुकुमतिरका माओवादी भने इतिहासको गर्तमा उहिल्यै दफनाइएको कम्पुचियायी लाल खमेरको मृत भूत मन्साएर जनता तर्साउने तथाकथित जनवादको असफल अभ्यास गरिरहेछन् । के रुकुमेली माओवादीले अब पनि देशले अंगिकार गरेको संविधान, नीति र विधि भन्दा बाहिर हिँड्न सम्भव छ ? यतातर्फ एकपटक रुकमेली जनताले गम्भीरतापूर्वक मनन गर्न जरुरी छ ।
त्यसैले रुकुमलाई कम्पुचियायी लाल आतंकको भूतबाट मुक्त गराउनको लागि एकपटक दृढतापूर्वक नेपाली कांग्रेसको पक्षमा उभिन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन नेपाली कांग्रेस रुकुम, आम रुकमेली दाजुभाइ दिदिबहिनी समक्ष विनम्र अपिल गर्दछ । 
जय नेपाल ।