चौरजहारीमा घुम्ती शिविर तथा क्षमता विकास तालिम सम्पन्न

रूकुम पश्चिम – भुकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्याम र सञ्चारकर्मीहरुको लागि रुकुमपश्चिमको चौरजहारीमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखाको आयोजनामा तीन दिने कार्यक्रम सम्पन्न भएको हो ।

शिविरबाट रुकुमपश्चिम, जाजरकोट र सल्यान जिल्लाका ११ जना पत्रकारहरुलाई प्रेस पास उपलब्ध गराईएको छ भने तीन वटा अनलाईन दर्ता तथा नविकरण गरिएको पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तीनै जिल्लाका ६५ जना पत्रकारहरुको क्षमता अभिबृद्धि तालिम समेत सम्पन्न गरिएको छ ।

अध्यक्ष केसीले भूकम्प प्रभावित क्षेत्रका संचार माध्याम र संचारकर्मीहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । संचार माध्याम दर्ता, नविकरण, प्रेस प्रतिनिधि पत्र वितरण लगायतका काममा सहजता दिलाउन घुम्ती शिविर मार्फत सेवा दिईएको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्व बिद्यालयका सह प्राध्यापक डा. विजयराज मिश्रले विपद्मा पत्रकारिता, स्थलगत रिपोर्टिङ, तथ्यहरुको खोजी शैली, न्यु मिडियाको प्रयोग, समाचार शैली, बिद्यागत पत्रकारिता लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो । तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराईएको थियो ।

घुम्ती शिविर तथा क्षमता अभिबृद्धि कार्यक्रममा विभागका महानिर्देशक शंकर नेपाल, निर्देशक भरत गौतम, शाखा अधिकृत टेक बहादुर ओली, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।