
३ असोज- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान प्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुग्न गएको बताएकी छन्।
सातौं संविधान दिवसमा आज शुभकामना दिँदै राष्ट्रपतिले ‘नयाँ संविधान जारी भएयताका वर्षहरूमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुग्न गएको छ’ भन्ने सन्देशमा उल्लेख गरेकी छन्।
संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा आवद्ध गर्न मार्गदर्शनसमेत गरेको राष्ट्रपतिको भनाइ छ।
‘वर्तमान संविधानले सामन्ती, निरङ्कुश र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक लगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शन गरेको छ। यस संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन्,’ राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन्।
साथै राष्ट्रपतिले लामो समयको संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेको पनि उल्लेख गरेकी छन्।
‘जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण पूरा भएको छ र मुलुकको आर्थिक समृद्धिका लागि हाम्रा सम्पूर्ण प्रयासहरू केन्द्रित गर्नु परेको छ,’ सन्देशमा भनिएको छ, ‘संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ।’
राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने पनि राष्ट्रपतिले उल्लेख गरेकी छन्।
संविधान दिवसमा राष्ट्रपतिले देशभित्र तथा बाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गरेकी छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन बलिदान गरेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरेकी छन्।
साथै राष्ट्रपतिले कुमारी इन्द्रजात्रा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्।

हेलो कर्णाली । ३ आश्विन २०७८, आईतवार ०७:२८