सल्यानका एक जना जनप्रतिनिधिले आफूविरुद्ध सामाजिक सञ्जालमा लेखेकै कारण स्थानीय युवालाई वडाका सेवामा प्रतिबन्ध लगाएका छन् । यस्तो प्रतिबन्ध लगाउने बागचौर नगरपालिका–४ का वडाअध्यक्ष प्रेमबहादुर पुन हुन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनले सोही वडाको सिमाखोली भन्ने ठाउँका दिलबहादुर केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट वञ्चित गराएका हुन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधिलाई समेटेर ‘छोटे राजा’ संज्ञा दिइ चरित्रहत्या गर्ने काम भएको उनको भनाइ छ ।
‘अदालतमा ती युवाका भाइको एउटा मुद्दा परेको थियो,’ वडाध्यक्ष पुनले भने, ‘अनि म कतै नजोडिएको मान्छे त्यसरी नाम आएकाले प्रत्युत्तरमा यसो भनिएको हो । अझ, छोटे राजा भन्ने शब्दलाई नै लिएर हामीले प्रत्युत्तरमा यसो भनेका हौं ।’
उनले वडाबाट दिइने सेवामै प्रतिबन्ध लगाएको कुरामा भने आफूलाई पनि ‘गल्ती’ महसुस भएको सुनाए । आवेगमा आएर यसो भनिए पनि आफूले कुनै प्रतिबन्ध नलगाएको उनको भनाइ छ ।
हेलो कर्णाली । २६ कार्तिक २०७८, शुक्रबार १९:५७