रोल्पामा कांग्रेस नेताको मोटरसाइकल र घरमा आगजनी

रोल्पा – नेपाली कांग्रेस रोल्पाका सहसचिवको मोटरसाइकल र गंगादेव गाउँपालिका ५ का नदु डाँगीको घरमा आगजनी भएको छ ।

सहसचिव सुनिलकुमार वलीको रा ५ प ९५२१ नम्बरको मोटरसाइकल र नदु डाँगीको घरमा आइतबार अज्ञात समूहले आगजनी गरेको हो।

गंगादेव गाउँपालिका ४ का पार्टी वडा कार्यसमिति सदस्य गनबहादुर डाँगीको १३ औं पुन्यतिथिमा आइतबार श्रद्धाञ्जली सभा भएको थियो। उक्त कार्यक्रममा कांग्रेस रोल्पा उपसभापति हरिबहादुर पुन, सचिव शेरबहादुर थापा र सहसचिव सुनिलकुमार वली श्रद्धाञ्जली सभामा पुगेका थिए।

श्रद्धाञ्जली कार्यक्रम सकेर नेताहरू स्थानीय गंगादेव गाउँपालिका ५ का नदु डाँगीको घरमा बसेको आशंकामा अज्ञात समूहले उक्त घरमा पनि आगजनी गरेका छन्।

मोटरसाइकल र घरमा आगजनी गर्ने समूहलाई खोजी गरी कानुनी कारबाही गर्न रोल्पा कांग्रेस सभापति किशोरकुमार आचार्यले आज विज्ञप्ति निकालेर माग गरेका छन्।