कोहलपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ क १९९९ नम्बरको टिपरले पार्वतीपुरस्थित धर्मकाटा नजिकै बसिरहेका ३५ वर्षीय त्रिलोक केसीलाई राति ११ बजे ठक्कर दिएको हो ।

धर्मकाटामै काम गर्ने बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी केसीलाई गम्भीर घाइते अवस्थामा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपरसहित चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।