सदस्यता त्यागको स्वघोषणा गर्न पत्रकार महासंघ रुकुम पश्चिमको आह्वान

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले साधारण सदस्यता शुद्धीकरण अभियान सञ्चालन गरेको छ । महासंघको केन्द्रिय समितिको सर्कुलर अनुसार जिल्लामा पनि सदस्यता शुद्धीकरण गर्न थालिएको हो ।

महासंघको ‘सदस्यता शुद्धीकरण मापदण्ड, २०७९’ अनुसार जिल्लामा शुद्धीकरण अभियान थालिएको महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।उहाँका अनुसार शुद्धीकरण अभियानका लागि शाखाका उपाध्यक्ष गोपाल प्रसाद रेग्मीको संयोजकत्वमा सचिव हिरा परियार र सदस्य संगम देवकोटा सदस्य रहेको सदस्यता नविकरण तथा सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले साधारण सदस्यहरुको विवरण (पेशा तथा संलग्नता, कार्यक्षेत्र, मिडिया क्षेत्रमा रहे/नरहेको) संकलन गरिरहेको बताईएको छ ।

शाखाका सचिव हिरा परियारका अनुसार सदस्यता शुद्धीकरण अभियानलाई परिणाममूखि बनाउन महासंघले पत्रकारका पेशागत संगठनका प्रमुख तथा प्रतिनिधि, केन्द्रिय तथा प्रदेश परिषद् सदस्य, पूर्व पदाधिकारीहरु र जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थितिमा अन्तरक्रियात्मक बैठक समेत सम्पन्न गरेको छ ।

उक्त बैठकबाट नेपाल पत्रकार महासंघ रुकुम (पश्चिम) शाखाबाट सदस्यता प्राप्त गरेका र हाल पत्रकारितामा क्रियाशिल नरहेका सदस्यहरुलाई शुद्धीकरण अभियानमा सहयोग पुग्ने गरी सदस्यता त्यागको स्वघोषणा गर्नको लागि आह्वान गर्ने निर्णय भएको सचिव परियारले बताउनुभयो ।

बैठकमा महासंघले सञ्चालन गरेको ‘सदस्यता शुद्धीकरण अभियान, २०७९’ लाई सफल पार्न जिल्लास्थित पत्रकारका पेशागत संघ संगठनहरुको तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने सामुहिक प्रतिबद्धता समेत गरिएको छ ।

यसैबिच, पत्रकार महासंघ रुकुम पश्चिम शाखाले सदस्यता त्यागको स्वघोषणाका लागि एक सूचना जारी गरेको छ । आईतबार महासंघले जारी गरेको सूचनामा महासंघको केन्द्रिय समितिबाट जारी भएको ‘सदस्यता शुद्धीकरण मापदण्ड, २०७९’ अनुसार विगतका दिनमा पत्रकारितामा महत्वपूर्ण योगदान दिनुभएका र हाल पत्रकारितामा क्रियाशिल नरहनुभएका, शाखामा आबद्ध साधारण सदस्यहरुलाई स्वेच्छिक रुपमा साधारण सदस्यता त्यागको स्व–घोषणा लागि आह्वान गरिएको छ ।

रुकुम पश्चिम शाखामा आबद्ध सदस्यहरुको विवरण र ‘सदस्यता शुद्धीकरण मापदण्ड, २०७९’ पत्रकार महासंघ रुकुम पश्चिमको वेभसाईट https://fnjrukum.org/ मा हेर्न सकिने शाखाले जनाएको छ ।