रुकुम जानुपर्ने विमान ‘ड्यूटी आवर’ सकियो भन्दै नेपालगञ्जमै अवतरण गराए पछि क्याप्टेनलाई स्पष्टीकरण सोधियो

काठमाडौ – काठमाडौबाट रुकुमको सल्ले विमानस्थलका लागी उडेको नेपाल एयरलाइन्स (नेवानि) को टि्वनअर्टर जहाज सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको छ । पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगञ्जमै रोकिएको थियो । यसप्रति यात्रुहरूले असन्तुष्टि पोखेका छन् ।

सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रु लिएर ट्वीनअटर जहाज रूकुमको सल्ले विमानस्थलतर्फ उडेको थियो। तर, जहाज रुकुम नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको थियो। 

उक्त विमानका क्याप्टेन पेम्बा शेर्पाले नेपालगञ्ज पुगेपछि ‘मेरो ड्युटी सकियो’ भन्दै यात्रुलाई त्यहीँ ओरालेपछि यात्रुलाई नेपाल वायुसेवा निगमले नै बस्ने बन्दोबस्त मिलाएको थियो।

नेवानिका एक अधिकारीका अनुसार बाध्यताका कारण सोमबार नेपालगन्जबाट रुकुम उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गरेको जानकारी दिए । ‘ड्यूटी आवरको सीमाका कारण जहाज नेपालगन्जमा अवतरण गरिएको हो,’ उनले भने ।

उनका अनुसार सल्लेको मौसम खराब भएको रिर्पोट आएपछि जहाजलाई नेपालगञ्जमै अवतरण गरिएको हो । सल्ले पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था थियो ।

त्यस्तै पर्यटन मन्त्री प्रेम आलेले त्यस घटनाबारे क्याप्टेन पेम्बा शेर्पालाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको बताए।

‘उहाँले मेरो ड्युटी सकिएको भनेर रूकुम नपुर्‍याई नेपालगञ्जमा अवतरण गराउनुभएको जानकारी आएको छ,’ आलेले भने, ‘यात्रुलाई गन्तव्यमा नपुर्‍याई अलपत्र पारेर उहाँले नेपालगञ्जमै छोडिदिनुभएछ।’

यो घटना थाहा पाएलगत्तै आफूले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई छानबिन गर्न निर्देशन दिएको आलेले बताए।

आन्तरिक उडानमा नेवानिसँग दुई वटा मात्र ट्वीनअटर जहाज छन् ।