चौरजहारी नगरवासीले मतदान मार्फत प्रेम देखाउनेमा ढुक्क ‘प्रेम’

बैसाख ३० मा हुने स्थानीय तह निर्वाचनमा चौरजहारी नगरवासी मतदाताले मतदान मार्फत प्रेम देखाउने कुरामा आफु शत प्रतिशत विश्वस्त रहेको नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेद्वार प्रेम बहादुर वलीले बताउनु भएको छ । नेपाली कांग्रेस  र नेकपा एमालेको संयुक्त  चुनावी अभियान अन्तर्गत चौरजहारी नगरपालिकाको वडा नं ७ मा भएको कार्यक्रममा बोल्दै मेयर पदका उमेद्वार वलीले उक्त कुरा बताउनु भएको हो ।

पदिय हिसाबमा प्राप्त हुने तलब भत्ता लिने नलिने सो रकम शिक्षा, स्वास्थ, विपन्न र दलितहरुमा पारदर्शी किसिमले खर्च गर्ने , पद बहाली गर्दा र पदबाट निस्किदा सम्पत्ति विवरण सार्वजनिक गर्ने  र गर्न लगाउने, जुनसुकै खाले भ्रष्टाचार नगर्ने र गर्न नदिने, सरकारी सम्पत्तिको दुरुपयोग नगर्ने र दुरुपयोग हुन नदिने, नगरपालिकालाई भर्ति केन्द्र नबनाई सबैलाई  योग्यता र क्षमताका आधारमा समान अवसर दिईने, अनावश्यक रुपमा थोपरिको कर को दर घटाई दायरा बढाउने लगायतका संकल्प गर्नु भएका मेयर पदका उमेद्वार प्रेम बहादुर वलीले रुख चिन्हमा मतदान गरी आफु लगायत आफ्नो समूहबाट उमेद्वार भएका सबैलाई विजयी गराईदिन अपील गर्नु भएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा केन्द्रिय सत्ता गठबन्धन भन्दा फरक किसिमको तालमेलमा बनेको छ।  नगरपालिकाको प्रमुख र उप प्रमुख लगायत १४ वटै वडामा नेपाली कांग्रेस र एमालेका बीच चुनावी तालमेल बनेको छ भने चुनावी कार्यक्रम पनि संयुक्त रुपमा आयोजना भै रहेका छन । अरुको अस्तित्व नै स्वीकार गर्न नसक्ने गरी  माओवादीमा अधिनायकवादी चरित्र देखिएको, भन्दै दुई दलीय चुनावी तालमेल गरिएको कांग्रेस नेता खडक डाँगीले बताउनु भयो ।

नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका तर्फबाट चौरजहारी नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमश : प्रेम बहादुर वली र टंक प्रसाद वली रहनु भएको छ ।