एमाले संगको एकता भुल थियो,परिवर्तनको संवाहक माओवादी नै हो : अर्थमन्त्री शर्मा

नेपाल सरकारका अर्थमन्त्री तथा माओबादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन  शर्मा ‘प्रभाकर’ले विगतमा एमाले संगको एकता भुल भएको बताउनु भएको छ। माओवादी केन्द्र चौरजहारीको दोस्रो नगर सम्मलेनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले छरिएका कम्युनिष्टहरुको एकता गर्दै एउटा मात्रै कम्युनिष्ट केन्द्रको स्थापना गर्ने  महान सोचका साथ एकता गरिएको भएपनि एमाले भित्र रहेका यथास्थितिवादी र  प्रतिगामी तत्वका कारण सो अभियान सफल हुन् नसकेको बताउनु भएको हो । मन्त्री शर्माले अहिले पनि क्रान्तीकारी शक्तिहरु संग एकताको प्रयास भने भै रहेको बताउनु भयो ।

गणतन्त्र, संघियता धर्म निरिपेक्षता लगायत जे जति उपलब्धि भएका छन ती सबै माओबादी जनयुद्द बाट मात्र सम्भव भएको बताउनु भएका शर्मा ले अबको कार्यभार भने हजारौं शहीदको बलिदानी र घाइते अपांगको योगदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नु रहेको बताउनु भयो । नागरिकलाई  बेरोजगारीबाट मुक्त गर्न स्वरोजगार अभियानमा जोड्न आफ्नो पार्टी र सरकार लागिरहेको बताउनु भएका मन्त्री शर्माले सबै पक्षको राय सुझाव संकलन गर्दै, तिनको संश्लेषण गरी अबको राष्ट्रिय सम्मलेनबाट पारित गरिने बताउनु भयो ।’हामी समाजवादको यात्रामा रुकुम बाट झन् गतिशिलता थप्दै छौ र यो यात्रामा रुकुमेली जनताको साथ सधै झैँ रहने अपेक्षा राखेका छौ’ मन्त्री शर्माले भन्नु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष राज कुमार शर्माले नेपाली जनताको सुःख र समृद्धिका लागि आफुहरु संघर्षशिल रहेको बताउनु भयो  । ‘गरिबि, विभिन्न नाममा हुने विभेद कायमै छन्, पञ्चायत कालमै बनेका ऐन कानुनहरु अझैपनि बाँकी छन्, उहाँले भन्नुभयो–हाम्रो युद्ध अझै जारी छ, समाजवाद नआउञ्जेलसम्मका लागि हाम्रो युद्ध जारी नै रहन्छ ।’ आफुहरु जनताको सेवक भएको भन्दै उहाँले जनता मालिक रहेको बताउनुभएको थियो ।

आज देखि सुरु नेकपा माओबादी केन्द्र चौरजहारीको दोस्रो नगर सम्मेलन २ दिन चल्ने जनाइएको छ । सम्मेलनले माओबादी केन्द्र  चौरजहारीको  नयाँ नेतृत्व चयन गर्ने छ। कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्मा लगायत पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।