मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ः ३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुख समक्ष सोमबार साँझ ७ः ३० बजे राजीनामा दिनुभएको थियो । प्रदेश प्रमुखले सोमबार नै उहाँको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिनुभएको हो ।

विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली कांग्रेससँग भएको सत्ता समीकरण सम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उहाँद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ । प्रदेश देखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको कांग्रेस सोही सहमति अनुसार पहिलो पटक कर्णालीमा दुई मन्त्री सहित सत्तामा पुगेको थियो ।

माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच भएको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेस ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।