विजेता टीमलाई पुरस्कार वितरण गर्दै चौरजहारीमा आयोजित खेलकुद प्रतियोगिता सम्पन्न

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न १ एर्पोर्टमा आयोजना गरिएका बिबिध खेलकुद प्रतियोगिता विजेता समूहलाई पुरस्कार वितरण गर्दै सम्पन्न भएको छ । नाखिरा युवा क्लबको आयोजनामा कार्तिक ११ गते देखि खेलकुद प्रतियोगिता संचालन गरिएको थियो ।

खुल्ला पुरुष फुटबल र खुल्ला पुरुष भलिबल गरि २ बिधाका खेलकुद प्रतियोगिता संचालन भएको कार्यक्रममा विजेता टीम र विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी एवं चौरजहारी नगरपालिका वडा न १ का अध्यक्ष भद्र बहादुर बिष्ट र क्लबका अध्यक्ष तेज बहादुर बिष्ट (ओके)ले नगद पुरस्कार सहित सम्मान गर्नु भएको थियो । कार्यक्रममा खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता पनि राखिएको भएता पनि प्राबिधिक कारणले सो प्रतियोगिता भने स्थगित गरिएको खेलकुद संयोजक राजु जी. आर. ले बताउनु भयो ।

पुरुष फुटबल तर्फको उपाधी उचाल्दै चौरजहारी वारियर्सले नगद एक लाख एक हजार  एक सय एक रुपैयाँ सहित प्राप्त गरेको छ भने त्रिवेणी युवा क्लब दल्ली उपविजेता हुँदै नगद एकाउन्न हजार एक सय एघार प्राप्त गरेको छ।

त्यसै गरि पुरुष भलिबल तर्फको उपाधी भने नाखिरा युवा क्लबले जितेको छ। नव प्रतिभा युवा क्लब,सल्यान दोस्रो भएको छ भने कुपिण्डे सल्यानको जुनतारा नव युवा क्लब तेस्रो भएको छ। भलिवल तर्फ प्रथम दोस्रो र तेस्रो हुने टीमलाई क्रमशः नगद पच्चिस हजार, पन्ध्र हजार र पाँच हजार प्रदान गरिएको आयोजक समितिकाका सदस्य युवराज लामिछानेले  बताउनु भयो ।

यसै गरि कार्यक्रममा फुटबल र भलिबलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिएको छ। फुटबल तर्फ उत्कृष्ट खेलाडी उपहार पुनमगर, सर्वाधिक गोलकर्ता सलन सुनार र उत्कृष्ट गोलरक्षक नबिन बुढाथोकी घोषित भएका छन । भलिबल तर्फ सुरेन्द्र खत्री उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईक सुनील खत्री( ह्याप्पी) र उत्कृष्ट लिफ्टर प्रेम शर्मा घोषित भएका छन ।

समापन कार्यक्रममा बोल्दै भलिबलका पुर्व राष्ट्रिय खेलाडी यदु कुमार आचार्यले स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताले खेलाडीको स्तर वृद्धि विकासमा मद्दत पुग्नुका साथै त्यस क्षेत्रको पर्यटन विकासमा समेत टेवा पुग्ने भएकाले यस्ता आयोजनाहरुमा स्थानीय सरकार र जनप्रतिनिधिको विशेष योगदान हुनु पर्ने बताउनु भयो।

समापन कार्यक्रमका अवसरमा क्लबका अध्यक्ष तेज विष्ट (ओके) ले खेलकुद प्रतियोगिता सौहार्दपूर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्नु हुने सहभागी सम्पूर्ण खेलाडी, उपस्थित दर्शक, जनप्रतिनिधी, स्थानीय राजनितिक दलका नेता कार्यकर्ता, व्यापारी बुद्दिजिबी प्रहरी पत्रकार, स्वयंसेवक लगायत लाई प्रशंसा पत्र  प्रदान गर्दै  धन्यवाद ज्ञापन गर्नुभएको थियो ।