सुदूरपश्चिम कांग्रेस सभापतिमा वीरबहादुर बलायर र नारायण मिश्र बिच प्रतिस्पर्धा

सुदूरपश्चिम – नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । संस्थापन समूहका नेताहरुको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् ।

संस्थापन समूहमा प्रदेश सभापतिका लागि आधा दर्जन आकांक्षी रहेकामा नेताहरुले केन्द्रीय सदस्य बलायरलाई अगाडि सारेका हुन् ।  संस्थापन इतर समूहबाट प्रदेश सभापतिमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि नै छलफल भइरहेको थियो । दुबै पक्ष बलायरलाई सर्वसम्मत सभापति बनाउन तयार भएपनि पदाधिकारीमा कुरा नमिलेको बताइएको छ । कमजोर रहेको संस्थापन इतर समूहले मागेको पद दिन संस्थापन समूह तयार नभएपछि दुई पक्ष प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।

शुक्रबार दिउँसो दुई देखि चार बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । प्रदेश अधिवेशन बहीबार प्रदेश अधिवेशन उद्घाटन गरिएको हो । निर्वाचन कार्यतालिका अनुसार शनिबार मतदान हुनेछ ।