मंसिरमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा समकालीन तीन जना युवा नेता भिड्ने पक्का भएको छ।

प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यद्वय गगन थापा र प्रदीप पौडेल महामन्त्री पदमा आमनेसामने हुने भएका छन्।
कांग्रेसमा १४ पदाधिकारीमध्ये कोषाध्यक्ष मात्रै मनोनित हो। सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चुनावमार्फत् आउँछन्।
महाधिवेशन आउन एक महिना मात्रै बाँकी रहँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणालाई तीव्रता दिएका छन्।
नेताहरूले उम्मेदवारी घोषणा पनि सकेसम्म आफ्नो गृह जिल्लामै पुगेर गरेका छन्। कांग्रेसमा जहाँ नागरिकताको ठेगाना छ त्यहीँबाट क्रियाशील सदस्य रहेर पार्टीमा सक्रिय हुनुपर्ने बाध्यकारी व्यवस्था छ।
पौडेलले शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ मा आयोजित पार्टी कार्यक्रमबाटै महामन्त्री पदमा उठ्ने घोषणा गरेका हुन्।
पौडेल पार्टीमा पछिल्लोपटक केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति सदस्य रहेर काम गरेका थिए।
कांग्रेसमा करिब पाँच हजार उजुरी परेकोमा सबै विवाद हल गरिसकेपछि पौडेलले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्।
‘यो महाधिवेशनमा पार्टी महामन्त्रीमा उठ्छु, तपाईंहरूको साथ र सहयोग आवश्यक छ,’ महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्दै तनहुँमा पौडेलले भने। पौडेलले पार्टी संगठन बलियो बनाउन आफू महामन्त्री पदमा उठ्ने बताए।
‘संसदीय व्यवस्थामा पार्टी संगठन बलियो भयो भने निर्वाचन जित्ने हो,’ उनले भने, ‘निर्वाचनमुखी संगठन बनाउने, त्यसलाई व्यवस्थित गर्ने र विधिसम्मत ढंगले अनुशासित कायम गराउन हाम्रा धेरै चुनौती छन्। म महामन्त्री भएँ भने यी समस्याहरू हल गर्नेछु।’
उनले पार्टी संगठन बलियो बनाउन आफू महामन्त्री पदमा उठ्ने निर्णयमा पुगेको पनि बताए।
‘संगठनको सन्दर्भमा पार्टीभित्र देखिने अव्यवस्थालाई समाधान गर्न म सक्छु, मसँग अनुभव पनि छन्,’ उनले भने, ‘समस्या के हुन् पहिचान भइसक्यो। यसमा मैले नै समाधान दिन सक्छु भन्ने लागेर म महामन्त्री लड्ने निष्कर्षमा पुगेको हुँ।’
अव्यवस्थित संगठन, दिशाहिनता, सामाजिक मुद्दा र अभियानमा शून्य उपस्थिति, कार्यकर्ताको क्षमतावृद्धिमा ध्यान नदिईनुजस्ता विषय अन्त्य गर्न पनि आफू महामन्त्री पदमा उठ्न लागेको उनले बताए।
नेविसंघका पूर्वअध्यक्षसमेत रहेका पौडेल ०७२ सालमा भएको १३ औं महाधिवेशनदेखि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग निकट छन्। तर यसपालि उनले कुन टिमबाट आफू महामन्त्री उठ्ने हो खुलाउन चाहेनन्।
कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ। त्यसबेलासम्म पुराना गुट भत्केर नयाँ बन्न सक्ने भएकोले पनि उनले अहिले नै कुन टिमबाट उम्मेदवार हुने बाहिर ल्याउन चाहेका छैनन्।
यसअघि प्रवक्ता शर्मा र केन्द्रीय सदस्य थापाले पनि महामन्त्री पदमा उठ्ने घोषणा गरिसकेका छन्। शर्माले गत भदौ २४ गते बिपी जयन्तीमा सुन्दरीजल पुगेर महामन्त्री लड्ने घोषणा गरेका थिए। उनी सभापति देउवानिकट छन्।

हेलो कर्णाली । २६ कार्तिक २०७८, शुक्रबार १८:१७