नेपाललाई अमेरिकाविरुद्ध इतिहास रच्ने सुनौलो अवसर

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले तेस्रो खेलमा आज शुक्रबार अमेरिकासँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजे हुनेछ ।

नेपालले लिग–२ को पहिलो खेलमा गत सोमबार अमेरिकालाई ५ विकेटले हराएको थियो । नेपाललाई अमेरिकाविरुद्ध लगातार चार खेल हराएर इतिहास रच्ने सुनौलो अवसर हुनेछ ।  नेपालले नेपालमै भएको लिग–२ का दुवै खेलमा अमेरिकालाई हराएको थियो ।

नेपाललाई विश्वकप छनोटमा छानिनका लागि पनि जित जरुरी छ । यसअघि नेपाल सिरिजको दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो ।

अंक तालिकामा ओमान १२ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १४ खेलबाट १२ अंकको अमेरिका दोस्रो स्थानमा छ । ८ खेलबाट ९ अंकको स्कटल्याण्ड तेस्रो, ७ खेलबाट ८ अंकको नामिबिया चौथो, ७ खेलबाट ७ अंकको युएई पाँचौं, ६ खेलबाट ६ अंकको नेपाल छैटौं तथा ८ खेलबाट अंकविहीन पपुवा न्यूगिनी पुछारमा छ ।

सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा छानिने छन् ।