
जुम्ला–जाजरकोट जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टाको जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो ।
यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्युआरडीसी)ले सूचना जारी गरिसकेको छ ।
सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले टेन्डर खोली सकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने छ । सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।
जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो सुरुङ नै हुने भएकाले खन्ने कामलाई अध्ययन सकिने बित्तिकै अघि बढाइने छ ।
जुम्लाको इमिल्चाघारीदेखि जाजरकोट साङ्टासम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने हुन्छ ।
जुम्लादेखि जाजरकोट जान हिडेर करिब १० घण्टा उकालो हिँड्नुपर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जाजरकोट जान सकिन्छ ।
यो सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट बन्नेछ ।


हेलो कर्णाली । १७ पुष २०७८, शनिबार २०:४०