जिप्रका सुर्खेतमा माघ ९ देखि बार प्रणाली, खोप कार्ड अनिवार्य

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाप्रवाहमा ‘बार प्रणाली’ लागु गर्ने भएको छ।

मंगलबार सूचना जारी गरी प्रशासनले कोभिड महामारीको अवस्थालाई मध्यनजर गरी बार प्रणाली लागु गर्न लागिएको जनाएको हो।

यही माघ ९ गते (आइतबार) देखि कुन बार कुन स्थानीय तहका नागरिकलाई सेवा दिने भन्नेबारे सूचना जारी गरी खुलाएको छ।

नागरिकता, राष्ट्रिय परिचय पत्र, फोटोहितको मतदाता नामावली दर्ता, विद्युतीय राहदानीसम्बन्धी कार्यहरू ‘बार प्रणाली’मा गरिने प्रशासन कार्यालयले जनाएको छ।

जस अनुसार आइतबार र शुक्रबार लेकवेशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकाका नागरिकलाई मात्र यी सेवा प्रदान गरिनेछ।

यस्तै, सोमबार र मंगलबार वीरेन्द्रनगरसहित भेरीगंगा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिकाका नागरिकलाई प्रशासन कार्यालयबाट सेवा दिइनेछ ।

बुधबार र बिहीबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका नागरिकलाई यी सेवाहरू दिइनेछ।

कार्यालयबाट हुने सार्वजनिक सेवाप्रवाहमा भिडभाड बढी हुने र दैनिक कोभिडको प्रभाव बढ्न थालेपछि बार प्रणाली लागु गरिएको प्रशासनले जनाएको छ।

यस्तै, ९ गतेदेखि सेवा लिन जिल्ला प्रशासनमा आउँदा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन र पूर्ण रूपमा खोप लगाएको खोप कार्ड ल्याउन प्रशासनले आग्रह गरेको छ।

खोप कार्ड मोबाइलमा फोटो खिचेर भए पनि ल्याउन प्रशासनले अनुरोध गरेको छ।