देशको राजनीति माओवादीको इसारामा चलिरहेको छ: प्रचण्ड

सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन् । देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको उनको भनाइ छ ।

सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ ।’

गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा रहेका प्रचण्डको एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएका सबै समस्या समाधान भइसकेको दाबी छ ।

प्रचण्डले एमसीसी परियोजनाका विषयमा आफूहरूले गरेको बुद्धिमतापूर्ण निर्णयले अहिलेको सत्तारूढ गठबन्धन जोगिएको बताएका छन्। एमसिसी परियोजना अनुमोदन गर्ने सन्दर्भमा गठबन्धनकै भविष्य के हुने हो भन्ने चर्चा चलिरहेका बेला सकारात्मक समाधान गर्न आफूहरू सफल भएको उनले बताए।

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत आएका हुन् ।