ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर, ६५ जनाको नाममा रहेको जग्गा जफत हुने

काठमाडौं – विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर भएका छन् ।

प्रधानमन्त्री निवासको जग्गा विस्तार गर्दा सरकारी जग्गा मोहीलाई सट्टाभर्ना गर्ने भनी गरेको निर्णय र प्रस्ताव तयार गरेकोमा बस्न्यात र पन्तलाई दोषी ठहर गरेको हो । उनी भौतिक योजना तथा निर्माण मन्त्रालयमा सचिव हुदा गरेको निर्णयमा दोषी ठहर भएका हुन् ।

उनीहरुसँगै प्रेमबहादुर खापुङ, अजुन खतिवा, शंकर सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्ट पनि दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद सजाय सुनाइएको छ । उनीहरुबाट दामासाहीमा ९ करोड ६५ लाख रुपैयाँ विगो जफत हुने विशेष अदालतको फैसला छ ।

दोषी ठहर हुने अन्यमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरुलाई भने सफाइ दिएको छ ।

अदालतले विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गरेको हो ।

साथै ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ ।

विशेष अदालतका सदस्यहरुकाे इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार, जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुनेछैन ।